बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

हिमशिखर संवाददाता १० पुष २०७७, शुक्रबार १३:१९

काठमाडौं : बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका ४५ सांसदले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। यो प्रदेशमा नेकपाका ८० सांसद छन्।

प्रदेशको समृद्धि र सर्वोपरी हितकालागि सबै स्रोत र साधनको सदुपयोग एवम् परिचालन हुनुपर्नेमा त्यसलाई विभिन्न व्यक्ति र समूह स्वार्थहरुको लागि दुरुपयोग गर्ने क्रम नरोकिएको सांसदहरुको दावी छ। उनीहरुले दण्डहीनताले प्रश्रय पाएको र आरोपितहरुलाई संरक्षण गरिएको देखिएको बताएका छन्। पत्रमा भनिएको छ ‘महंगी, कालोबजारी र अपराध नियन्त्रणमा प्रदेश सरकार जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी अगाडि बढेको पाइएन। देशमा शान्ति, सुव्यवस्थाको सुदृढ व्यवस्था गर्नुका साथै अपराधिक क्रियाकलाप गर्नेहरु हतोत्साही हुने वातावरण सिर्जना भएन।’

देश कोराना विषाणु संक्रमणको महामारीको रोकथाम र औषधीउपचारमा समेत उचित नीतिका साथ यथोचित प्रबन्ध हुन नसकेको सांसदहरुको दाबी छ। सांसदहरुले दर्ता गराएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरुले माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गर्दछौं।’

सांसदहरुले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

Next Post

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल सडकमा (भिडियो सहित)

१० पुष २०७७, शुक्रबार १३:१९
गत आइतबार प्रधानमन्त्री केपी केपी ओलीले संसद् विघटन गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह सडकमा आएका छन् । शुक्रबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरूले ‘हामी यहाँ छौँ’ नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा देखिएका ताजा दृश्य :   […]