लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

हिमशिखर संवाददाता २७ श्रावण २०७८, बुधबार १२:३०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दोस्रोपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। उनको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ ।

पोखरेलले प्रदेश सभाको बैठक बस्नुअघि नै पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्दैछ । जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरेसँगै पोखरेलको मुख्यमन्त्री पद धरापमा परेको हो।

प्रदेश सभामा बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ। हाल विपक्षी गठबन्धनसँग ४१ सांसद र सभामुख पनि छन्। मुख्यमन्त्री पोखरेल आवद्ध (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्।

Next Post

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई द्वारा पदबाट राजीनामा

२७ श्रावण २०७८, बुधबार १२:३०
नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।