सिंजा गाउँपालिका वडा नंं.५ का कृषक रामसिंह रावलले यस वर्ष ५ टन स्याउ फलाएका थिए । गत वर्ष भन्दा स्याउ उत्पादन वृद्धि भएकोले कमाई राम्रै हुने आशा गरेका रावलले श्रमको फल पाउनु भएन । उत्पादन भएको ५ टन स्याउ मध्ये मुस्किलले २ टन स्याउ बजारमा विक्री भएको रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“बजारमा स्याउ लिने तयारी भइरहेको थियो । गत असोज अन्तिम साता भएको अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउ थन्कियो ।”
गत वर्ष स्याउ बेचेर ३ लाख बढी कमाएका रावलले यसपाली स्याउको मूल्य हात परेको छैन । विक्री भएको २ टन स्याउको मूल्य उठ्नै बाँकी छ । भने रावल थन्किएको ३ हजार केजी स्याउ कसरी बेच्ने चिन्तामा छन् ।
जुम्लामा उचित मूल्य पाइदैन् । बाहिरी बजार लिन पनि सम्भव छैन । रावलले थप्नुभयो,“स्थानीय सरकारले किसानको उत्पादन सङ्कलन गर्ने र बजारीकरणमा सहज बनाउने नीति नभएकै कारण घाटा व्यहोर्नु पर्यो । कर्णाली राजमार्गको दुरावस्था छ । मूल्य र बजार नपाउँदा स्याउ कुहिएर जाने अवस्था छ । करिब १२ सय कार्टुन स्याउ कोठामा थन्कीएको छ । थन्कीएको स्याउ देखेर मन भक्कानिएर आउँछ ।”
रामसिंह रावल जस्तै सिंजा क्षेत्रका जोडु भाडगाँउ, बारे, गोठी, पिगि गाउँका सयौँ किसानका स्याउ गाउँमै थन्किएका छन् । स्याउ खेतीमै निर्भर किसानलाई गत असोजको विपद्ले बज्रपात गरेको छ । गाउँमा अहिले ३० रुपैयाँ केजी विक्री गर्दा पनि कसैले नलिएपछि किसान मर्कामा परेका छन् ।
१८ हजार वर्गमिटरमा जग्गामा व्यवसायी स्याउ खेती गरेको रावलले स्थानीय जताको रेड डेलिसियल, रोयल, जोनाथन, गोल्डेन जात स्याउ फलाइरहेका छन् । भने १ हजार ओखरका बिरुवा समेत रोपेका छन् । बजार र मूल्य नपाएर स्याउ थन्किने समस्याको अन्त्य गर्न स्थानीयतहमा ८ देखि १० टन क्षमताको कोल्डस्टोर निर्माण, किसानले आफ्नो उत्पादित वस्तुको मूल्य निर्धारण गर्नुपर्ने नीति बनाउनु पर्नेमा उनको जोड छ ।
फुजी स्याउले हराउँदै स्थानीय स्याउ
रेड डेलिसियल, रोयल, जोनाथन, गोल्डेन स्याउ जुम्ली रैथाने जातका स्याउ हुन् । रैथाने जातको स्याउ खेती गर्न जुम्लाका सामान्य किसानलाई कुनै समस्या छैन । लागतका हिसाबले निकै सस्तो पर्छ । भने स्वादिष्ट पनि हुन्छ । तर छोटो समयमा बढी उत्पादन गर्ने दाउँमा जुम्लामा पछिल्लो समय फुजी स्याउतिर बढ्दो आकर्षणले रैथाने जातका स्याउ सङ्कटमा छ ।
कृषक रामसिंह रावल भन्छन्,“फुजी स्याउ खेती पैसावाला र ठुला किसानका लागि मात्र उपयुक्त हो । प्रति बिरुवा ४÷५ हजार पर्छ । तर सामान्य किसानले फुजी स्याउ खेती गर्न सम्भव छैन । सामान्य किसानलाई स्याउ खेतीको पहुँचमा ल्याउन रैथाने स्याउ खेतीलाई बढवा दिने नीति बनाउनु पर्छ ।”
स्वाद र दिगोसम्म टिक्ने दृष्टिले पनि जुम्ली रैथाने स्याउ उपयुक्त नै छ । तर फुजी स्याउ प्रतिको अप्रत्याशित आकर्षणले जुम्ली अर्ग्यानिक स्याउ खेती विस्तार हुन सकेको छैन । जुम्लाका आठ पालिकाले रैथाने स्याउ खेती, मध्यम क्षमताको कोल्ड स्टोर निर्माण, बजारीकरणमा सहज हुने नीति निर्माणमा जोड दिन आवश्यक रहेको किसान रावलको भनाई छ ।
यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिनुभयो । यद्यपि उत्पादन भएको ४० प्रतिशत स्याउ मात्रै बजारमा गएको छ । भने, असोज तेस्रो साता भएको वर्षाले सडक अवरुद्ध भएपछि धेरै किसानको स्याउ बजारमा नगएको र हाल उचित मूल्य नपाएका कारण किसान मर्कामा परेको उहाँको भनाई छ ।