जुम्ला जिल्ला पूर्वाधार विकास कार्यालयमा आइतबार एक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जेन जी जुम्लाका संयोजक शैलेस रोकायाको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा कार्यालयका पछिल्ला योजना, सञ्चालनमा रहेका काम तथा प्रगतिबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का बजेट, उपलब्धि र आगामी आवको बजेट व्यवस्थापनबारे समेत गहिरो समीक्षा तथा विचार–विमर्श गरिएको संयोजक रोकायाले जानकारी दिए।
पूर्वाधार विकास कार्यालयका नायब सुब्बा धर्मराज रावलले कार्यालयमा स्रोत–साधनको अभावका कारण काम गर्न असहज भइरहेको बताए। उनले बिग्रिएका र भत्किएका स्थानहरूमा मर्मतका लागि डोजरको अभाव हुँदा सडक डिभिजन र अन्य ठेकेदारसँग गुहार माग्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। रावलले जनगुनासोका रूपमा “हामीले काम नगरेको भनेर भन्नेहरू छन्, तर साधन अभावकै कारण कठिनाइ भएको हो” भनेका थिए।
संयोजक रोकायाले अब जुम्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर वस्तुगत अवस्था बुझ्ने र कामलाई छिटो, छरितो तथा गुणस्तरीय बनाउन पहल थालिने जानकारी दिए।



