जुम्ला, फागुन — कर्णाली प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री सुशीला कार्की जुम्ला आइपुगेकी छिन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकलाई धन्यवाद व्यक्त गर्ने उद्देश्यले प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा निस्किएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार निर्वाचनअघि निरीक्षण भ्रमणका क्रममा कर्णाली पुग्न नसकिएकाले निर्वाचनपछि उक्त क्षेत्रको भ्रमण गरिएको हो।
यस क्रममा प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरेकी थिइन्।
जुम्ला पुगेपछि पनि उनले जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग छलफल गरेकी छन्।
छलफलका क्रममा सीमित स्रोतसाधन र कठिन भौगोलिक अवस्थाका बाबजुद प्रभावकारी समन्वय र उच्च प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा उनले सुरक्षा निकाय तथा कर्मचारीहरूको प्रशंसा गरिन्।
प्रधानमन्त्री कार्कीको यस भ्रमणलाई निर्वाचनपछिको मूल्यांकन तथा धन्यवाद ज्ञापनका रूपमा हेरिएको छ।



