दैलेखमा गाउँपालिकाले एम्बुलेन्स नदिँदा शिशुको ज्यान गयो

हिमशिखर संवाददाता १० भाद्र २०७८, बिहीबार १८:२२

दैलेखको ठाटीकाँध गाउँपालिकाले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा ठाटीकाँध-५ तोलीजैसीमा एक शिशुको ज्यान गएको छ। एम्बुलेन्स उपलब्ध नगराएकै कारण ठाँटीकाँध स्थित तोलीजैसीमा मञ्जु विककी डेढ महिने छोरीको ज्यान गएको हो।

मञ्जुकी डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि उनले प्राथमिक सस्वास्थ केन्द्र लकान्द्रमा पुर्‍याएकी थिइन्। प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको थियो।

प्राथमिक स्वास्थ केन्द्रले सुर्खेत रेफर गरेपछि आफन्तहरु एम्बुलेन्सकाे खोजी गर्दै गाउँपालिका अध्यक्ष धीरबहादुर शाही समक्ष अनुराेध गर्न पुगेका थिए। अध्यक्ष शाहीले एम्बुलेन्सको भाडा स्वरुप ९ हजार रूपैयाँ अग्रिम भुक्तानी माग गरेका थिए। तर शिशुका आफन्तसँग तुरुन्तै एम्बुलेन्सलाई दिनका लागि पैसा नभएकाे भनी अनुराेध गर्दा पनि गाउँपालिका अध्यक्षले मानेनन्।

शिशुका आफन्तका अनुसार गाउँपालिका अध्यक्ष शाहीलाई पहिले बालिकालाई अस्पताल पुर्‍याउ अनी पैसाको जोहोमा लागौला भन्दा पनि मानेन्। प्रहरीको सहयोगमा ८ घण्टापछि एम्बुलेन्स प्रदेश अस्पताल पठाइयो। त्यतिन्जेल शिशुको अवस्था निकै नाजुक बनिसकेको थियो। एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो।

पीडितका आफन्तले समयमै गाउँपालिकाले सहयोग गरेको भए शिशुको ज्यान बच्ने बताएका छन्। तर, गाउँपालिका अध्यक्ष शाहीले आफ्नो कमजोरी स्वीकार गरेका छैनन्।

‘एम्बुलेन्स उपलब्ध गराइएन भन्ने कुरा गलत हो। एम्बुलेन्सका ड्राइभर किशोर विक हुन्। उनले पैसा मागेका हुन्,’ उनले भने, ‘म कहाँ त्यो कुरा पुगिसकेपछि मैले एम्बुलेन्स लैजान भनेको थिए। तर पनि उनले मानेनछन्।

शाहीले आफू बिरामी रहेकाले घरमै आराम गरिरहेको प्रतिक्रिया दिएका छन्। उनले आफूले नै प्रहरीसँग समन्वय गरेर एम्बुलेन्सको व्यवस्था गरेको दाबी गरेका छन्।

उनले थपे, ‘बेलुकी साढेसात बजेतिर नै एम्बुलेन्स सुर्खेतका लागि हिडेको हो। मैले सक्दो सहयोग गरेको हुँ। बाँकी सब बनावटी कुरा हुन्।’

स्थानीयका अनुसार ठाटीकाँध गाउँपालिका-५ तोलीजैसीबाट सुर्खेत पुग्न एम्बुलेन्सलाई बढिमा पाँच घण्टा लाग्छ। बिरामीका आफन्तको गुनासो छ, ‘आठ बजे एम्बुलेन्स हिडेको भए पनि १ बजे सुर्खेत पुग्नुपर्थ्यो। तर, शिशुको ज्यान बिहान ४ बजे बिचबाटोमै गएको छ। यसले पनि गाउँपालिका अध्यक्षले झुट बोलिरहेको पुष्टि हुन्छ।’

Next Post

रहेनन जनगायक जेबी टुहुरे

१० भाद्र २०७८, बिहीबार १८:२२
जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे ) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए। मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो। डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित […]