गठबन्धन गर्नुअघिको अवस्था स्मरण गर्न कार्यकर्तालाई देउवाले आग्रह

हिमशिखर संवाददाता २५ बैशाख २०७९, आईतवार १८:००

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गठबन्धन गर्नुअघि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न आग्रह गरेका छन्।

पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार बनेको, आफू प्रधानमन्त्री बनेको र प्रदेशहरूमा पनि कांग्रेसका मुख्यमन्त्री, मन्त्री बन्न गठबन्धनकै कारण सम्भव भएको तथ्य नबिर्सन उनले नेता–कार्यकर्तालाई आग्रह गरे।

गठबन्धन कांग्रेसका लागि बढी आवश्यक रहेको उनले बताए। उनले गठबन्धनलाई जोगाउन र यसको सफलताका लागि कांग्रेस र यसका नेता–कार्यकर्ताले बढ्ता योगदान दिनुपर्ने धारणा राखे। गठबन्धनलाई शंका गरेर दायाँबायाँ गरे कारबाहीमा पर्नेतर्फ उनले कांग्रेसका कार्यकर्तालाई सचेत गराएका छन्।

अहिले कांग्रेसको नेतृत्वको सरकार रहेको र सबै पार्टीलाई मिलाउने काम गरेको भन्दै गठबन्धनलाई शंका–आशंका नगर्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे। प्रचण्ड नेतृत्वको माआवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले उदार भएर कांग्रेसलाई सहयोग गरेको उनले टिप्पणी गरे।

‘प्रचण्ड र माधव नेपालजीको पार्टीले हामीलाई उदार भएर सहयोग गरेको छ । हामीले धेरै लिएका छौँ। उहाँहरूले महानगरमा एउटा एउटा नेतृत्व लिनुभएको छ। यसलाई तपाईंहरूले ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसमा शंका–उपशंका गर्ने काम गर्नुभयो र यताउता गर्नुभयो भने तपाईंमाथि कारबाही हुन्छ।’

संसद् विघटन गरेर देशलाई खाडलमा पार्न खोज्ने एमाले अध्यक्ष ओलीको प्रवृत्तिको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने, संघीयता र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जोगाउनुपर्ने उनले धारणा राखे।

‘प्रजातन्त्रको, संविधानको र लोकतन्त्रको खिलाफ गएर ओलीले संसद् विघटन गरे। लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो। यसलाई जोगाउनुपर्छ। गठबन्धनबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटसहित गठबन्धनबाट जहाँ–जहाँ उम्मेदवार बन्नुभएको छ। उहाँहरूलाई जिताउन अग्रसर बन्नुपर्छ। यसमा अझ बढी कांग्रेस र यसका नेता–कार्यकर्ता लाग्नुपर्छ,’ उनले भने।

Next Post

भरतपुरमा कांग्रेसको प्रेम धेरै दिन टिक्दैन : एमाले उपाध्यक्ष पाण्डे

२५ बैशाख २०७९, आईतवार १८:००
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँचदलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाकी  मेयर उम्मेदवार रेनु दाहालसँगको कांग्रेसको प्रेम धेरै दिन नटिक्ने बताएका छन्। भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन ज्यादै छोटो र कमजोर भएको बताएका हुन्। ‘केही दिनअघि भरतपुरमा सम्बोधन गर्न आएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डले नाइँ […]