राष्ट्रिय दलित आयोगले धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाहीको लागि सिफारिस गरेको छ।
आयोगले मेयर साम्पाङले दलित समुदायको अपमान हुने गरी निरन्तर समाजिक सञ्जालमा प्रस्तुत भएको भन्दै गृह मन्त्रालयलाई कारबाहीको लागि सिफारिस गरेको हो।
साम्पाङले आफ्नो फेसबुकमा तराईका दलित समुदायप्रति अपमान गर्ने गरी अभिव्यक्ति दिएपछि सच्चाउन आग्रह गरे पनि बेवास्ता गर्दै झनै निरन्तर अपमानजनक तरिकाले प्रस्तुत भएको भन्दै गृह मन्त्रालयलाई कारबाहीको लागि सिफारिस गरिएको आयोगले जनाएको छ।
‘विज्ञप्तिमार्फत् मिति २०७९/०८/२८ मा गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानूनभन्दा आफूमाथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा निजलाई कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिएको व्यहोरा अनुरोध छ,’ अयोगले गृहलाई गरेको सिफारिसमा भनिएको छ।
मेयर साम्पाङले मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्ति चमार जातिप्रति लक्षित अपमान भएको आयोग भनाइ छ।