सरकार गठनमा प्याकेजमै सहमति गर्ने गरी छलफल गर्दै गठबन्धन, विकल्पको खाका तयार

हिमशिखर संवाददाता ८ पुष २०७९, शुक्रबार ०७:१९

नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनका दलहरुले छलफललाई तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी विकल्पको खाका तयार भएको र आजदेखि यही खाकामाथि थप छलफल हुने अनुमान छ ।

राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन थप पेचिलो बन्दै गएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाउन अन्य पार्टीसँगको सहकार्यसमेत गर्न सक्ने बताइरहनु भएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा यही गठबन्धनलाई अगाडि बढाउने तयारीमा रहेकाले पनि सहमतिका लागि विकल्पको खाकामाथि छलफलको तयारी भएको हो । नेपाली कांग्रेसले राष्ट्रपति आफूलाई र माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने गरी खाका बनाएको जनाइएको छ । तर यसबारे औपचारिक जानकारी केही पनि सार्वजनिक भएको छैन ।

नयाँ सरकार गठन र भागबण्डाबारे आज पनि दलहरुबीच छलफल हुँदैछ । उनीहरुले प्याकेजमा नै सहमति गर्नेगरी छलफललाई अघि बढाउँदै छन् । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्या भण्डारीले दिएको सीमा पर्सि आइतवार सकिँदै छ । यस कारण  पनि सहमति जुटाउन गठबन्धनभित्र दबाब बढेको छ । प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ३ गते ७ दिनको समय सीमा दिनु भएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

Next Post

काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु

८ पुष २०७९, शुक्रबार ०७:१९
नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ। आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा […]

सम्बन्धित समाचार