हिमपातले जुम्लामा यातायात र बिजुली सेवा अवरुद्ध, जनजीवन कष्टकर

महेश चाैलागाँई ११ माघ २०७९, बुधबार १९:५१

जुम्लामा दुई देखि लगातार परेकाे हिमपातले जनजीवन कष्टकर बनेकाे छ। चिसाे अत्यधिक बढेका कारण घरबाट बाहिर निस्कन गाह्रो भइरेकाे छ।

यसैबीच हिमपातपछि पहिराे आउँदा कर्णाली राजमार्ग  राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ११:४५ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका-४ राचुलीस्थित पहिरो जाँदा सडक अवरुद्ध भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको जीप २९५८ नम्बरको गाडी फसेको छ। उक्त गाडीको अगाडिको टायर पहिरोमा परेको हो।

सडक खुलाउन प्रहरी टोली लागिपरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले सडक खुलाउने तयारी भइरहेको बताए।

यस्तै लगातारको हिमपातले दुई दिनदेखि हवाई यातायातसमेत अवरुद्ध भएकाे छ भने विद्युत् सेवासमेत सुचारु हुन सकेकाे छैन।

राष्ट्रिय प्रसारण लाइन मात्रै विकल्प भएकाे जुम्लामा विजुली नहुँदा बिजुलीको समस्या भएकाे छ। दुईदेखि घाम नलागेर साेलारसमेत चार्ज हुन सकेका छैनन्।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तरकाे हिमपातले जुम्लाको विभिन्न ठाउँमा बिजुलीका तार चुँडिएका छन्। पोल ढलेका छन्। यसले गर्दा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो।

‘मर्मत टिम फिल्डमै रहेका छन्, मर्मत कार्य पनि जारी छ। विद्युत सेवाको प्रतिकुल समयमा थप महत्त्व हुने हुँदा हामी सचेत रहेका छौँ,’ उनले भने।

Next Post

रवि लामिछाने अनागरिक होइनन् : रविन्द्र मिश्र

११ माघ २०७९, बुधबार १९:५१
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक नरहेको टिप्पणी गरेका छन्। धेरैले रवि लामिछाने अनागरिक, राज्य विहिन भएको टिप्पणी गरेको देखिएको भन्दै मिश्रले उनी अनागरिक, राज्यविहीन नभएको टिप्पणी गरेका हुन्। मिश्रले नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने भन्दै उनी […]