भारत सरकारले २ हजार दरको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ । भारतीय राजनीतिज्ञदेखि आर्थिक क्षेत्रसम्म यसबारे बहसमा उत्रिएका छन् । यही क्रममा आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले नोटबन्दी गर्ने र खुलाउने प्रथाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भन्दै कटाक्ष गरेका छन् ।
उनले सरकारले मनपरी ढंगले नभई विज्ञको रायको आधारमै यो निर्णय मोदीले लिएको विश्वास व्यक्त गरे। पछिल्लो समय मोदीले २ हजार नोटलाई चलनचल्ती बाहिर गर्ने निर्णय लिए पनि यसको कुनै फाइदा आफूले नदेखेको उनको भनाइ छ । यसैगरी कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम्ले मोदीको यो स्वाभाविक निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले यो नोट चलनचल्ती बाहिर हुने आफूले पहिले नै अनुमान गरेको बताए ।
भारतले नोभेम्बर २०१६ को राति एकाएक ५०० र एक हजार दरका नोटमा बन्देज लगाएको थियो । नरेन्द्र मोदी सरकारले एकाएक नोटबन्दीको निर्णय लिएपछि भारतमा हल्लीखल्ली मच्चिएको थियो । कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरिएपछि भारत सरकारले गुलाबी रंगका २ हजार दरको नोट जारी गरेको थियो ।
८ नोभेम्बरको राति प्रधानमन्त्री मोदीले नोटबन्दीको घोषणा गरेका थिए । यसपछि भारतीय रिजर्व बैङ्कले २ हजार र पाँच सय रुपैयाँको नयाँ नोट जारी गरेको थियो । हालैका वर्षमा ५०० का नोट निकै प्रचलनमा रहेको छ । तर, एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने भन्दै प्रश्नहरू उठ्ने गरेका थिए ।
यही क्रममा सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैङ्कले २०१९ र २० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए । २ हजार दरका नोटको विषयमा सवाल उठिरहँदा शुक्रवार भारत सरकारले २००० हजार दरका नोट नै अब प्रचलनमा नआउने घोषणा गरेको हो ।
सेप्टेम्बर ३० पछि के हुन्छ ?
भारतीय केन्द्रीय बैंकले सेप्टेम्बर ३० भित्र २ हजार दरको नोट बैंक खातामा जम्मा गर्न वा बदल्न सकिने व्यवस्था गरेको छ । तर, सेप्टेम्बर ३० पछि नोट वैध हुने या नहुने भन्नेबारे प्रष्ट पारेको छैन ।
२ हजार दरको नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा भएको थियो । त्यतिबेला ६.७३ करोड सर्कुलेशन थियो । यस्तै ३१ मार्च २०२३ मा यसको सर्कुलेशन मात्र ३.६३ करोड रहेको समाचारमा जनाइएको छ ।