जुम्लाको तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । नेपाल सरकारले तोकेका प्रायजसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभाव भएकोबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतको भनाइ छ ।
सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु समयमै उपलब्ध नहुँदा तिलाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको तिला गाउँपालिका – ३ मा रहेको कुडारी स्वास्थ्य चौकीमा प्रमुख विजय रावलले बताए । संघीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गएपनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधिको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत फेरबदलले औषधि खरिद बोलपत्रको कामहुन सकेको छैन । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल,ब्रोफिन लगायतका औषधी अभाव भएको कुडारी स्वास्थ्य चौकीमा प्रमुख रावलले जानकारी दिएका छन् ।
पालिकाले औषधि खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिन थालेको जनगुनासो आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लखको बजेट अबको एक सातापछि टेन्डर प्रक्रियामा गई तिलाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले जानकारी दिएका छन् । पालिकाले यो वर्षका लागि जम्मा आठ लाख बजेट स्वास्थ्य शाखालाई बिनियोजित गरेको छ ।
सीमित बजेटको सीमा भित्र भई काम गर्नपर्ने भएकोले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नेका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरि स्वास्थ्य संस्थामा औषधि ल्याएको छु । स्वास्थ्य संयोजक रावतले भने,“पालिकाले मलाई स्वास्थ्य संयोजको जिम्मेवारी दिएको एक महिना मात्र भएको छ । स्वास्थ्य संस्थाका पहिलादेखी नै औषधि अभाव रहेको रहे छ । अहिले पालिका भित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधिको माग फाराम भरी पठाएको स्वास्थ्य संयोजक रावतको भनाइ छ । ”
प्रशासकीय अधिकृत नहुदा औषधि खरिदमा दिलाई भएको हो । अब पालिकामा प्रशासकीय अधिकृत आइसक्नु भएको छ । औषधि खरिद लगायत अन्य स्वास्थ्य क्षेत्रमा रोकिएका काम अगाडि बढ्ने तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायले स्वास्थ्य संस्थामा देखिएको औषधि अभाव छिट्टै समाधान हुन्छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिरी भइसकेका छन् । रोकिएको औषधि खरिद प्रक्रिया काम अगाडि बढाएर पालिकामा सबै स्वास्थ्य संस्थामा सहज रुपमा औषधि उपलब्ध गरिने गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।
साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको तिलाका स्थानीयवासि बताउँछन् । स्वास्थ्य संस्थाहरुबाट सहज रुपमा निःशुल्क औषधि लिन सर्वसाधारण वञ्चित भएपछि यहाँका स्थानीयवासी सामाजिक संञ्जालमार्फत विरोध गरिरहेका छन् । औषधि खरिद र कर्मचारीको खटनपटनको सही व्यवस्थापन हुन नसक्दा यो समस्या आएको स्वास्थ्य शाखाका कार्यरत कर्मचारी बताउँछन् ।