जुम्ला — जुम्ला सदरमुकाम खलङ्गा बजारमा कर्णाली प्रदेशको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ। लाखे काट्ने र रथयात्रा गर्ने परम्परागत विधि पूरा गरेपछि जात्रा औपचारिक रूपमा समापन गरिएको हो।
वि.सं. १९५३ देखि सुरु भएको नेवार संस्कृतिको यो जात्रा प्रतिपदादेखि सुरु भई नवमीका दिन लाखे काटेर सम्पन्न गर्ने प्रचलन रहँदै आएको छ।
जिल्लामा लाखे नाच र देउडा खेल्ने पुरानो परम्परा रहेको छ। यस संस्कृतिको सुरुआत मल्लकालीन सभ्यतादेखि भएको इतिहासकारहरूको भनाइ छ। खलङ्गा बजारमा बर्सेनि आयोजना हुने यो जात्राले स्थानीय संस्कृतिको संरक्षणसँगै मनोरञ्जन र सामाजिक एकता कायम गर्न योगदान पु¥याउँदै आएको आयोजक जात्रा समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए।
संस्कृतिविद् चित्रलाल श्रेष्ठका अनुसार यो जात्राले वर्षभरि श्रम गरेका जनतालाई उमङ्ग दिने मात्र नभई सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुर्याएको छ।
जात्रामा जिल्लाका विभिन्न गाउँबस्तीहरूबाट ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए। व्यवस्थापनका लागि जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरेका थिए।
परम्पराअनुसार नेपाली सेना र नेपाल प्रहरीले आशा गुर्जा र बालगोपाललाई भित्र्याउने, श्रीकृष्णलाई सलामी दिने, लाखे काटेपछि लस्करसहित रथयात्रा सम्पन्न गर्ने चलन रहँदै आएको छ।
जानकार विष्णुप्रसाद उपाध्यायका अनुसार अन्तिम दिन बडिमालिकाबाट ल्याइने सामग्री सरकारी रथ र नागरिक रथसँगै मिसाएर चन्दननाथ मन्दिरमा चढाउने, लाखे काट्ने र सलामी दिने परम्परा छ। कृष्ण अष्टमीको रात १२ बजे कृष्ण जन्माउने र त्यसपछि देउडा खेल्दै जात्रा समापन गर्ने चलन रहेको छ।
जात्रा अवलोकन गर्न डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट, सुर्खेत र रुकुमलगायतका जिल्लाबाट समेत हजारौं भक्तजन जुम्ला आएका थिए, जात्रा व्यवस्थापन समितिले जनाएको छ।



