कनकासुन्दरी गाउँपालिका–४ गोठिज्युलामा आयोजित दुई दिने विपद् व्यवस्थापन तथा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको सहयोग र क्याड नेपाल जुम्लाको सहजीकरणमा सञ्चालन गरिएको तालिममा ८ वडाबाट २२ जना र गाउँपालिका तथा शाखा कार्यालयका ६ जना गरी २८ जनाको सहभागिता रहेको थियो।
परियोजना संयोजक राजेश प्रकाश यरीका अनुसार तालिमले स्थानीय युवाहरु र सरोकारवालामा आपतकालीन प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो। सहभागीले विपद्को प्रकार, विपद् व्यवस्थापन चक्र, जलप्रकोप तथा आगलागी नियन्त्रण, स्थानीय स्रोत प्रयोग गरी उद्धार सामग्री बनाउने सीपलगायत विषयमा व्यवहारिक अभ्यास गरेका थिए।
समापन सत्रमा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा गाउँपालिकाले यस्ता कार्यक्रम आफ्नै पहलमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।



