काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता भएको थियो। वार्तापश्चात सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए।
उनले ट्वीटमार्फत भनेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु।’
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी वार्ता टोली गठन गरिएको सार्वजनिक गरेका हुन्। त्यसको एक घण्टापछि विप्लव पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको थियो। उक्त समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’सम्मिलित वार्ता टोली गठन गरेको हो।



