कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्डअन्तर्गत कालिकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोले सडक अवरुद्ध भएको छ।
चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो यातायात सञ्चालनमा आएको थियो। तर, सोही राति करिब ९ बजे गगने खोलामा ठूलो पहिरो गएपछि पुनः राजमार्ग ठप्प भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिएका छन ।
‘रातिको पहिरोले सवारीसाधन सबै रोकिएका छन्, मोटरसाइकलसमेत चल्ने अवस्था छैन,’ रावतले बताए। उनका अनुसार गगने खोलामा करिब एक सय मिटर माथिबाट ठूलो ढुंगासहित पहिरो झरेको हो। असारयता यतिखेरसम्म सो ठाउँमा मात्रै २३ पटक पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ।
यसैबीच, कालिकोटकै फुगाड खोलामा पानी बढेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ। तीन वर्षअघि बाढीले बगाएको बेलिब्रिज अझै पुनर्निर्माण नभएकाले वर्षा सुरु हुनासाथ सडक बन्द हुने समस्या भइरहेको हो।
राजमार्ग र करिडोर दुबै अवरुद्ध भएपछि सुर्खेत जाने सवारीसाधन विभिन्न ठाउँमा रोकिएका छन्।



