किसानको पसिना, मिहिनेत र आशाको मूल्य सस्तो खेलौना होइन। तर विडम्बना! शिखर इन्स्योरेन्स कम्पनीले किसानसँग गरेको वाचा फेरि भत्काएको छ। साउन १२ गते ११ बुँदे लिखित सहमति गरेर किसानलाई शान्त पारेको कम्पनी, महिनै नबित्दै आफ्नो प्रतिबद्धता बिर्सियो। परिणाम? आज फेरि स्याउ किसान आन्दोलित छन्, आक्रोशित छन्, निराश छन्।
त्यो दिन सम्झनासाथ किसानको पीडा झन् गहिरो हुन्छ। प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको वार्ता, इन्स्योरेन्सका ठूला अधिकारीहरूको उपस्थिती, किसान प्रतिनिधिहरूको आँशु र भरोसा सबैले त्यसबेला आशा जगाएका थिए। किसानहरूले सोचे “अब हाम्रो क्षतिपूर्ति पक्का भयो।” तर के भयो? महिनौं बितिसक्दा पनि किसानले हातमा पाउने भनेको खाली आश्वासन मात्र।
“५३ जनालाई मात्रै चेक थमाएर जनताको आँखामा छारो हाल्ने काम भयो,” भन्छन् बिमित किसान हरि थापा । उनको स्वरमा पीडाभन्दा बढी आक्रोश झल्किन्छ। सयौं किसान अझै भुक्तानीविहीन छन्, तर कम्पनीले आफ्नो जिम्मेवारी पूरा गर्न तयार छैन।
कृषक महासंघका संयोजक खड्ग बहादुर सेजुवाल अझ कडा शब्दमा प्रश्न गर्छन् उखु किसानले न्याय पाए, तर स्याउ किसान किन बेवास्ता? किसानको पसिनालाई यसरी मोलतोल गर्ने कम्पनीलाई के हामी चुपचाप हेरेर बस्ने?”
वास्तवमै, यो केवल पैसा वा क्षतिपूर्तिको कुरा मात्र होइन। यो किसानको श्रमको सम्मान हो। उनीहरूले बिमा गर्दा बुझाएको शुल्क तिरेका थिए, प्रिमियम भरेका थिए, सबै प्रक्रिया पूरा गरेका थिए। तर जब आपत आयो, स्याउ नष्ट भयो, त्यतिबेला भने इन्स्योरेन्स कम्पनीले ‘प्रक्रियागत कमजोरी’ भन्दै समय काट्ने खेल खेल्यो।
अहिले अवस्था फेरि तनावपूर्ण छ। किसानहरू फेरि आन्दोलनमा उत्रिएका छन्। शिखर इन्स्योरेन्सको जुम्ला शाखामा धर्ना दिइरहेका छन्। तर कार्यालयका तर्फबाट कसैले जवाफ दिन सकेको छैन। त्यो मौनता किसानलाई अझै झन् उद्विग्न बनाइरहेको छ। किसानहरू भन्छन्—“हाम्रो क्षतिपूर्ति कहिले आउँछ? वा यो कम्पनीले हामीलाई सधैं धोका दिने हो?”
जुम्लाका किसानहरूलाई सम्झनु जरुरी छ यिनीहरू कुनै भीख मागिरहेका छैनन्। उनीहरू आफ्नै अधिकार मागिरहेका छन्। अधिकार जुन उनीहरूले प्रिमियम बुझाउँदा नै सुनिश्चित भएको थियो। तर अहिले देखिएको तस्बिर भने निराशाजनक छ सहमति कार्यान्वयन बिना, किसान फेरि सडकमा, फेरि आन्दोलनमा, फेरि अन्यायको विरुद्ध चिच्याइरहेका छन्।
आज जुम्लाका किसानको आक्रोश केवल शिखर इन्स्योरेन्समाथि मात्र होइन, सम्पूर्ण प्रणालीमाथि छ। न्यायका लागि, श्रमको मूल्यका लागि, उनीहरू फेरि सडकमा उत्रिएका छन्।



