जुम्लाको सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०(८१ को योजना तर्जुमाका लागि सरोकारवालासँग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा पालिका जुटेको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।
बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी पालिकाभित्रका सरोकारवालाहरुसँग राय सुझाव माग गरेका छौं, प्रमुख प्रशासकीय अधिकृत धितालले बताए । बजेटको लागि सबै निकायबाट सुझाव संङ्कलनलाई तीव्र बनाएको भन्दै आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि बुधबार राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष र स्थानीयवासिबाट राय सुझाव माग गरिएको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताईन्।
आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई अगाडि बढाएको गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष तीर्थ वडको भनाइ छ । नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले ल्याउँदा शिक्षा ,स्वास्थ्य ,खानेपानी, कृषि , संचारलाई विशेष प्रथामिकतामा राखेर बजेट विनियोजित हुनुपर्छ । सानातिना योजनालाई अन्त्य गरी जनताले महसुस हुने गरी ठूला योजनालाई पालिकाले महत्त्व दिनुपर्ने स्थानीयवासी पूर्णचन्द आचार्याले बताए ।
स्थानीयवासीको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्ने स्थानीयवासी नन्दराज खत्रीको भनाई छ । स्थानीय सरकार घर नजिकै सरकार भएकोले राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याउँदा राम्रो हुने यहाँका स्थानीयवासी बताउँछन् । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।