गगनेखोला खुल्यो, तर किसानको स्याउ अझै बाटोमै

हिमशिखर संवाददाता १७ भाद्र २०८२, मंगलवार १३:०१

भदौ १४ गतेको पहिरोले कालिकोटको गगनेखोला ढाकिदिँदा कर्णाली राजमार्ग ठप्प भयो। सुर्खेत , जुम्ला सडकखण्डका सयौँ यात्रु अलपत्र परे, ट्रकहरू बाटोमै रोकिए र व्यापारीसँगै किसानको मुहारमा चिन्ता गड्गडियो।

तीन दिनपछि नेपाली सेना, प्रहरी, स्थानीय पत्रकार र सरोकारवालाको प्रयासमा बाटो खुलेको हो। गाडी फेरि गुड्न थालेका छन्, तर किसानका ट्रकहरूमा भरिएको स्याउ अझै पनि गन्तव्यसम्म पुग्न सकेका छैनन्।

जुम्लाबाट काठमाडौं र भारततर्फ पठाउन राखिएको झन्डै १४ करोड रुपैयाँ बराबरको स्याउ २५ वटा ट्रकमै थन्किएको छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी भन्छन्, “यो वर्ष उत्पादन केही घटेको छ, तर स्वाद निकै मिठो छ। तर बजारमा पु¥याउन सकिँदैन भने किसानले घाटा खान्छन्।”

बगैँचामा अझै प्रतिकिलो ७० रुपैयाँमै स्याउ किनबेच भइरहेको छ। जुम्लामा यसपालि १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ, जसको पाँच हजार मेट्रिक टन बाहिर पठाउने योजना थियो। तर सडकमै अवरोध हुँदा किसान त्रासमा छन्।

हरि थापा, वर्षौंदेखि स्याउ खेती गर्दै आएका किसान, भन्छन्, “हामीसँग व्यापारी आउँछन्, गाडी आउँछ, तर बाटो बन्द हुन्छ। हरेक वर्ष घाटा यस्तै बाटोकै कारण हो।”

सडक खुले पनि अझै पहिरोको जोखिम कायमै छ। सडक डिभिजन कार्यालयले यात्रुहरूलाई सावधानी अपनाउन र रात्री यात्रा नगर्न आग्रह गरेको छ।

जुम्लाका बगैँचामा हरेक स्याउ रातो र मीठो भएर पाक्दै छन्। तर किसानको मनमा भने एउटै डर “बाटो बन्द भयो भने फेरि हाम्रो पसिनाको फल बाटोमै कुहिन्छ कि?”

Next Post

डाँडाकोटमा काटिएको विद्युत सेवा सुचारु

१७ भाद्र २०८२, मंगलवार १३:०१
चन्दननाथ नगरपालिका–३ डाँडाकोट क्षेत्रमा अवरुद्ध भएको विद्युत आपूर्ति पुनः सुचारु भएको छ। सोमबार साँझ नेपाल विद्युत प्राधिकरण, जुम्ला वितरण केन्द्रले नयाँ मिटर जडान गर्ने सवालमा विवाद आएपछि लाईन काटिएको थियोे। मंगलबार जिल्ला प्रशासन कार्यालय र डाडाकोटबासीबीच जिल्ला प्रशासन कार्यलयमा छलफल भइ सहमति भएपछि विद्युत सुचारु गरिएको वितरण केन्द्रका प्रमुख राम […]