जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पुस १५ गते दिउँसो करिब ३ः३० बजे,जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–९ उमगाड स्थायी घर भई हाल चन्दननाथ नगरपालिका–६ छिना गाउँमा बस्ने २२ वर्षीय कविन्द्र रावलले आफ्नै घरमा लागुऔषध लुकाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले प्रकाउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटिएको प्रहरी सहायक हवल्दार पवित्र बुढाको कमाण्डमा तीन जनाको प्रहरी टोलीले रावलको घरमा खानतलासी गर्दा उनलाई आफ्नै सुत्ने कोठामा फेला पारेको थियो। खानतलासीका क्रममा रावलले लगाएको सेतो रङको ज्याकेटको दायाँ खल्तीभित्र कालो प्लास्टिकमा बेरेर राखिएको दुई पुडिया तथा सुत्ने कोठाको माथिल्लो भागमा रहेको काठको कडीमा लुकाई राखिएको २६ पुडिया गरी जम्मा २८ पुडिया फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका पुडियाहरू खोली जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ भेटिएको र तौल गर्दा शुद्ध ४ ग्राम ३४० मिलिग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।
लागुऔषधसहित पक्राउ परेका कविन्द्र रावललाई हाल जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।



