बागमती प्रदेशसभाको बिहीबारको बैठक पनि अवरुद्ध भएको छ। यसअघिको बैठकमा उठाइएका राष्ट्रिय सरोकारका विषयमा मुख्यमन्त्रीले थप स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै माओवादी केन्द्रले अवरुद्ध गरेको हो।
बैठकको सुरुमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण राखेका थिए। उनीहरुले बोलिसकेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट स्पष्ट जवाफ नआएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि बिहीबारको बैठक अवरुद्ध भएको हो।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको बताए।
बिहीबार बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए।
उनले सरकारले विगतका वर्ष झै यस वर्ष पनि सरकारको नीति कार्यक्रम ल्याइँदा आइएनजीओहरुलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान नराखिएको बताए। उनले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो भनेर प्रष्ट गर्न माग गरे।


