रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश गरेको छ । आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै उनले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।
उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो । लामिछानेले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।
तर, अदालतले उनको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।



