सामान्य विवादमै गाउँ अन्धकार, प्राधिकरणको ‘हेपाहा प्रवृत्ति’

महेश चाैलागाँई १६ भाद्र २०८२, सोमबार २१:२८

जुम्ला चन्दननाथ नगर पालीका डाँडाकोटमा सामान्य विवादलाई कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले पूरै गाउँलाई अन्धकारमा पारेको आरोप लागेको छ। सोमबार बिहान सिंह सार्कीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा उत्पन्न विवादपछि प्राधिकरणका कर्मचारीले मनोमानी ढंगले गाउँकै लाइन काटिदिएको स्थानीयले दाबी गरेका छन्।

“साधारण प्रश्न सोध्दा पनि रिसाएर पूरै गाउँलाई विजुली काट्नु प्राधिकरणको हैकम मात्र हो,” स्थानीय राजन नेपाली आक्रोशित स्वरमा भन्छन्। अर्का स्थानीय नवराज नेपाली थप्छन्, “एक व्यक्तिसँगको सामान्य विवादमा गाउँलाई अन्धकारमा राख्नु नाङ्गो अत्याचार हो।”

तर, यस्तो संवेदनशील विषयमा जवाफ दिनुपर्ने प्राधिकरण प्रमुख रामआशिष शाह भने सम्पर्कबाटै फरार भएका छन्। पत्रकारले पटक–पटक फोन गर्दा नउठाएको, अन्ततः स्विच अफ गरेर सम्पर्क तोडेपछि उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मात्र ‘खण्डन’ गर्दै जिम्मेवारी पन्छाउन खोजेका छन्।

फेसबुकमार्फत जारी गरिएको सूचनामा प्राधिकरणले जुगाडखोला लघु जलविद्युत आयोजना बन्द भइसकेको र अहिले नेवि प्रा.कै लाइन सञ्चालन भइरहेको दाबी गरेको छ। तर गाउँमा एक्कासी अन्धकार पारिएको वास्तविक कारणबारे प्रष्ट जवाफ नदिँदा स्थानीय अझै चर्को आक्रोशमा छन्।

जनतालाई सेवा दिनुपर्ने प्राधिकरणको यस्तो व्यवहारलाई स्थानीयले ‘हेपाहा प्रवृत्ति’ र ‘जवाफदेही नबन्ने रोग’ को संज्ञा दिएका छन्।

Next Post

गगनेखोला खुल्यो, तर किसानको स्याउ अझै बाटोमै

१६ भाद्र २०८२, सोमबार २१:२८
भदौ १४ गतेको पहिरोले कालिकोटको गगनेखोला ढाकिदिँदा कर्णाली राजमार्ग ठप्प भयो। सुर्खेत , जुम्ला सडकखण्डका सयौँ यात्रु अलपत्र परे, ट्रकहरू बाटोमै रोकिए र व्यापारीसँगै किसानको मुहारमा चिन्ता गड्गडियो। तीन दिनपछि नेपाली सेना, प्रहरी, स्थानीय पत्रकार र सरोकारवालाको प्रयासमा बाटो खुलेको हो। गाडी फेरि गुड्न थालेका छन्, तर किसानका ट्रकहरूमा भरिएको […]