हिमा नदिमा ५ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

महेश चाैलागाँई २५ असार २०८२, बुधबार १७:२३

जुम्ला जिल्लाको हिमा गाउँपालिका–७ बागबजारमा ५ वर्षीय बालक यमन शाही हिमा नदीले बगाउँदा बेपत्ता भएका छन्। स्थानीय अभेन्द्र शाहीका छोरा यमन शाही असार २५ गते दिउँसो करिब २ बजेर ५० मिनेट जाँदा नदी किनारमा बालुवा खेल्दै गर्दा अचानक नदीले बगाएर बेपत्ता भएको स्थानीय वडाध्यक्ष बिक्रम शाहीले जानकारी दिएका छन्।

घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जुगार्ड, जुम्लाबाट प्रहरी निरीक्षक डेनी थापाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको अस्थायी प्रहरी पोष्ट जुगार्डले जनाएको छ। स्थानीय बासिन्दाको सहयोगमा बालकको खोजी कार्य भइरहेको छ।

बेपत्ता बालकको खोजी भइरहेको स्थान अस्थायी प्रहरी पोष्ट जुगार्डबाट करिब ३ किलोमिटर पश्चिम र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट झण्डै ३५ किलोमिटर पश्चिम पर्छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुले नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाइरहेका छन्। नदीको बहाव बढेको कारण खोजीमा थप कठिनाइ भइरहेको बताइएको छ।

बालकको अवस्था बारे अहिलेसम्म कुनै पुष्टि हुन सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

Next Post

जुम्लामा पहिलाे भित्रियो फोटनको विद्युतीय सवारी

२५ असार २०८२, बुधबार १७:२३
बिहीबार एक कार्यक्रमका बीच जुम्लामा फोटन ब्रान्डको विद्युतीय सवारीसाधन ‘माउन्टेन ईभी’ सुचारु गरिएको जानकारी दिइएको छ। नेपालको जटिल भौगोलिक बनावटलाई लक्षित गरी विशेष डिजाइनमा निर्माण गरिएको यो सवारी अब कर्णालीको दुर्गम भेगमा पनि सञ्चालनमा आउने भएको हो। कम्पनीका कर्णाली प्रदेश डिलर प्रतिनिधि जीवन शर्माका अनुसार, जुम्ला लगायत कर्णालीका दुर्गम भेगहरूमा […]