जुम्लामा पहिलाे भित्रियो फोटनको विद्युतीय सवारी

महेश चाैलागाँई २६ असार २०८२, बिहीबार १७:४०

बिहीबार एक कार्यक्रमका बीच जुम्लामा फोटन ब्रान्डको विद्युतीय सवारीसाधन ‘माउन्टेन ईभी’ सुचारु गरिएको जानकारी दिइएको छ। नेपालको जटिल भौगोलिक बनावटलाई लक्षित गरी विशेष डिजाइनमा निर्माण गरिएको यो सवारी अब कर्णालीको दुर्गम भेगमा पनि सञ्चालनमा आउने भएको हो।

कम्पनीका कर्णाली प्रदेश डिलर प्रतिनिधि जीवन शर्माका अनुसार, जुम्ला लगायत कर्णालीका दुर्गम भेगहरूमा पनि वातावरणमैत्री र आधुनिक प्रविधियुक्त यातायात विस्तार गर्ने उद्देश्यले माउन्टेन ईभी भित्र्याइएको हो। फोटनले नेपालका लागि विशेष तयार पारेको माउन्टेन ईभीमा ५३.५८ किलोवाटको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। यसमा १३० किलोवाटको अधिकतम पावर, ३३० एनएमको टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी क्षमता रहेको छ।

जुम्ला प्रतिनिधि रामराजा महतका अनुसार, कर्णालीमा विद्युतीय सवारी साधनप्रति बढ्दो चासो देखिएको छ।
उनले भने, “कर्णालीमा डिजेल–पेट्रोलमा निर्भरता घटाएर वैकल्पिक ऊर्जामा आधारित सवारीको प्रयोग समयको आवश्यकता बनेको छ। यस्तो अवस्थामा माउन्टेन ईभीले विकल्प मात्रै होइन, क्रान्तिको सुरुवात गरिदिएको छ।”

कम्पनीले हालसम्म नेपालभर ६० स्थानमा चार्जिङ् स्टेशन निर्माण गरिसकेको जानकारी पनि दिइएको छ। जुम्लामा पनि चार्जिङ सुविधा विस्तार गरिने प्रतिबद्धता रहेको बताइएको छ।

विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, उद्योगी, यातायात क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले माउन्टेन ईभीको परीक्षण सवारी अनुभव गर्दै जुम्ला जस्तो कठिन भौगोलिक क्षेत्रका लागि यो सवारी उपयुक्त रहेको प्रतिक्रिया दिएका थिए।

माउन्टेन ईभी भित्र्याइँसँगै अब कर्णालीका पहाडी र विकट क्षेत्रहरूमा पनि आधुनिक र वातावरणमैत्री सवारी सञ्चालनको नयाँ युग सुरु भएको सहभागीहरूको धारणा थियो।

Next Post

संघीय खानेपानी कार्यालय जुम्ला तालाबन्दी

२६ असार २०८२, बिहीबार १७:४०
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाकाे गेटमा तालाबन्दी गरिएकाे छ । आईतबार विहान बसेकाे सर्वदलिय बैठककाे निर्णयनुसार जुम्लाबाट कार्यालय खारेज गर्ने निर्णय विरुद्धमा तालाबन्दी गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए। उनका अनुसार १ अर्ब २६ कराेड लागतकाे बृहत्त धाैलिगाड लगायतका खानेपानी आयाेजना रहेकाे जुम्लाबाट कार्यालय खारेज गर्ने […]