जुम्लामा सोमबार दुई फरक स्थानमा दुई किशोरीको झुण्डिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीका अनुसार तातोपानी गाउँपालिका–२ जर्मी निवासी वमबहादुर रावलकी १४ वर्षीया छोरी पुष्पा रावल आफ्नै घरको कोठाभित्र काठको कडिमा रातो दोबाटोले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सोमबार बिहान करिब ९ः३० बजे पुष्पालाई झुण्डिएको अवस्थामा उनका बाजे धनबीर रावलले देखेपछि स्थानीय वडाध्यक्षमार्फत प्रहरीलाई जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी लिताकोटबाट प्रहरी सहायक हवल्दार महेश भण्डारीको कमाण्डमा प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको नेतृत्वमा घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी लिताकोटबाट करिब २ किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ।
यसैगरी, गुठिचौर गाउँपालिका–३ निवासी तिल रावलकी १९ वर्षीया छोरी देवकी रावलको पनि झुण्डिएर मृत्यु भएको छ। देवकी घरबाट करिब ८–१० किलोमिटर टाढा बैसेनी जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सोमबार दिउँसो करिब २ बजे वडाध्यक्षले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए।
घटनापछि प्रहरी चौकी झारज्वालाबाट प्रहरी सहायक हवल्दार दिनेश थारुको कमाण्डमा टोली तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको नेतृत्वमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ।
दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।



