सर्वोच्चले खारेज गर्‍यो दानबहादुर बुढाको रिट, पदमुक्तिको निर्णय कायम

महेश चाैलागाँई १२ श्रावण २०८३, मंगलवार २१:५८

जुम्ला, १२ साउन । सर्वोच्च अदालतले गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले पद पुनर्वहालीको माग गर्दै दायर गरेको उत्प्रेषणको रिट खारेज गरेको छ। अदालतको यस फैसलासँगै निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार गरेको उनको पदमुक्तिको निर्णय कायम भएको छ।

सर्वोच्च अदालतमा दर्ता नम्बर ०८२–डब्लु ओ–१५४७ रहेको उक्त रिटमा अदालतले “रिट खारेज” गर्ने फैसला सुनाएको हो। यससँगै बुढाको अध्यक्ष पद पुनः प्राप्त गर्ने कानुनी प्रयास अन्त्य भएको छ।

दानबहादुर बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए।

दल परिवर्तन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको थियो। त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार बुढाको गाउँपालिका अध्यक्ष पद रिक्त भएको निर्णय गरेको थियो।

आयोगको उक्त निर्णयविरुद्ध बुढाले निर्वाचन आयोग र नेपाली कांग्रेसलाई विपक्षी बनाई सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि आयोगको पदमुक्तिको निर्णयले कानुनी निरन्तरता पाएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै गुठीचौर गाउँपालिकाको नेतृत्व सम्बन्धी बाँकी प्रक्रिया अब प्रचलित कानुनअनुसार अगाडि बढ्ने अपेक्षा गरिएको छ।

Next Post

जुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ लैजाँदै गरिएको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा

१२ श्रावण २०८३, मंगलवार २१:५८
जुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ लैजाँदै गरिएको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गरेको छ। नपाकेको स्याउ जिल्ला बाहिर निकासी नगर्ने स्थानीय निर्णय कार्यान्वयनका क्रममा रारा प्रहरी चौकीले स्याउ रोकेको हो। कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार परीक्षण गरिएका १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा बढी पाइएको […]

सम्बन्धित समाचार