बेपत्ता बाबु खोज्दै भारतको पञ्जाब देखि कैलाली जिल्ला हुदै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको छ । बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई पुर्नस्थापनाका लागि सुर्खेत पठाइएको हो ।
स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका, जिल्ला समन्वय समिति र सरोकारवालाहरुको सहयोगमा बेवारिसे अवस्थामा बाबु खोज्दै जुम्ला पुगेका बालबालिकाको पहिचान खुलेपछि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधव काफ्लेले जानकारी दिए ।
महिलाहरुका लागि अल्पकालिन आश्रय सहितको सेवा केन्द्र जुम्लामा राखिएका बालबालिकाको पहिचान खुलेपछि बास र अध्ययनका लागि प्रहरीको साथमा बालबालिका सुर्खेत पठाइएको हो । डिएसपी काफ्लेका अनुसार बालबालिकाले आफ्नो नाम र ठेगना फरक दिइएको भेटिएको छ ।
अहिले बास्तविक ठेगना पहिचान भइसकेको छ । डिएसपी काफ्ले भन्छन्,‘नाम ठेगना पहिचान भएपछि सुर्खेत पठाउन निकै सहज भयो ।’
बेवारिसे अवस्थामा बाबु खोज्दै आएका उनीहरुको स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो ।
उनिहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ले चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई, आश्रय केन्द्रका अध्यक्ष भगवती श्रेष्ठ सहितको टोलीले सुर्खेत पठाएको हो । सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालिन पुर्नस्थापनाका लागि कुरा भएको सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
भारतको पञ्जाबबाट बाबु खोज्दै कैलाली पुगेको ती बालबालिकाले बाबुले घरखेत सबै बेचेको भन्दै कामको खोजीका लागि जुम्ला आइपुगेको बताएका थिए । बाबुले अर्की श्रीमति ल्याएर आफुहरु विचल्लीमा परेको बयान दिएका थिए ।