सुरक्षा परिषद्को बैठकलगत्तै मन्त्रि रिषद्‌ बैठक बस्‍दै

हिमशिखर संवाददाता ११ फाल्गुन २०७७, मंगलवार ०९:०६

काठमाडौँ : आज सुरक्षा परिषद्को बैठक बस्‍दैछ ।  देशमा राजनीतिक संकट चुलिनु र अर्कातिर सोमबार मात्रै प्रधानसेनापती पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेटवार्ता भएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सुरक्षा परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

‘बिहान साढे ९ बजे बाेलाइएकाे सुरक्षा परिषद्को बैठकलाई   रक्षा सचिव एवं सुरक्षा परिषद्का सदस्य सचिव रेश्‍मीराज पाण्डेले नियमित बैठक भनेका छन ।  ‘उक्त बैठकमा उत्‍पन्‍न समसामयिक विषयमा नै छलफल हुनेछ । लामो समयदेखि छलफलका थाँति छन् ।’ बैशाखमा हुने भनिएको चुनावलगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजै मन्त्रिपरिषद्‌ बैठक पनि बस्‍दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान साढे १० बजे मन्त्रिपरिषद्‌ बैठक बस्‍न लागेको हो । मन्त्रिपरिषद्‌ बैठक नियमित भएको बालुवाटारले जनाएको छ । सुरक्षा परिषद्‌को बैठकलगत्‍तै मन्त्रिपरिषद्‌को बैठक बस्‍न लागेकाले अर्थपूर्ण रुपमा हेरिएको हो ।

त्‍यस्तै प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । गएको पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो । यसअघि सोमबार दुवै पक्षका वकिलले बहस नोट बुझाएका थिए ।

त्यसअघि एमीकस क्युरीका अन्तिम सदस्य गीता ढकालले शुक्रबार राय दिएपछि सोमबार बहस नोट बुझाउन भनिएको थियो । एमीकस क्युरीका पाँच सदस्यमध्ये चार जनाले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने पक्षमा राय दिएका थिए ।

सुरक्षा परिषद्को बैठकमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनेछन् । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । अहिले रक्षामन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।

Next Post

वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्यमाथी झुक्याएर हस्ताक्षर गराएको आराेप

११ फाल्गुन २०७७, मंगलवार ०९:०६
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै खड्काले आपत्ति जनाएका हुन् । वडा सदस्य दर्लामीले घरमा आइ स्किम –२ को खानेपानीसम्बन्धी समस्याको विषयमा छलफल गरी संस्थामा पठाउनु […]