जुम्ला हिमा गाउँपालिका–२ का कमल रोकाया कार्तिक सम्म खाइलाग्दा थिए। काइ गर्थे। घर परिवारलाई दिन्थे। भर्खर २३ वर्षका उनलेे खिचेका सेल्फी हेर्दा एक लक्का जवानकाे भान गराउथ्याे। घर परिवार र इष्टमित्रले भविष्यकाे टेकाे उनलाई नै सम्झेका थिए।
उनी फुल्दै फल्दै गरेकाे घरका लागि निउरिएकाे हाँगा थिए। तर समयले टेकाे नलागाइदिएपछि भुइमा लत्रिएका छन्। फोक्सोमा देखिएको समस्याका कारण उनले उपचारका लागि धाएका देश विदेशका अस्पतालका लम्बेतान फेहरिस्त छन्। तैपनि उनकाे घरमा चैन आइपुगेको छैन।
पहिलाे पटक बिरामी हुँदा मंसिर ९ देखि २३ गतेसम्म सुर्खेतको माया नर्सिङ हाेम, २३ गतेदेखि २९ गतेसम्म प्रदेश अस्पताल सुर्खेत भर्ना हुँदा उपचार सम्भव भएन। त्यपछि उनलाई काठमाडाैंकाे वीर अस्पताल लागियाे। त्यहाँ १ महिना छ दिन बसे। १५ दिन आइसियू मा राखियाे। निकाे भएन।
यत्तकैमा महिना दिन अरु गए। माघ ७ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा लगियाे। भएन। राति २ बजे लखनउकाे प्राइभेट हस्पिटल एण्ड ट्रमा सेन्टर लगियाे। त्यहाँ ११ दिन आइसियुमा राखियाे। १९ काे बीस भएन।
कमलका कुरुवा अंगत राेकायाका अनुसार आश मरेन। सास छुन्जेल आश हुन्छ। लखनउबाट फेरी काठमाडौं लगियाे। महाराजगन्ज स्थित टिचिङ हस्पिटलकाे मनमाेहन कार्डियाेथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर आइसीयूमा राखिएकाे छ।
बेड नम्बर ४१० मा कमलकाे शरीर लतारिएकाे छ। पातलाे छालाले हाडमा लेमिनेस गरेजस्ताे सिंगाे शरीर छ। छातिकाे दाँयातिर ओडार जस्ताे प्वाल छ र पनि कमलकाे सास मन्द चलिरहेकाे छ। आफन्त आस मानेर कुरी बसेका छन्। फोक्सोमा देखिएको समस्या कम भएको छैन।
कमाउने आशमा भारत गएका कमल स्वास्थ्यमा समस्या देखिएपछि गत मंसिरमा घर फर्किएका थिए। काम गर्ने क्रममा २०७७ मंसिरमा उत्तराखण्डाको परेकमा बिरामी भएपछि नेपाल फर्किएका थिए।
सुर्खेतकाे माया निर्सिङ हाेमबाट सुरु भएकाे उपचार यात्र फेरी भारत हुँदै काठमाडौंमा सम्म पुग्याे। तरपनि निकाे भएकाे छैन। आस मानेका आफन्तले उपचारमा कुनै कसुर बाँकी राखेका छैनन्।

तीन महिना देखि आइसियुमा राखेर उपचार भइराखेको छ, कमलका भाइ भैरवले भने, ‘जता लिए पनि, जस्तो उपचार गरे पनि निको हुँदैन। आफूसँग भएका पैसा र ऋण दानले अहिले सम्म चल्याे। अब औषधि किन्ने पैसा समेत छैन।’
कमलको उपचारको लागि १९ लाख रुपैयाँ बढी खर्च भइसकेको छ। त्यो सबै ऋण सापट गरेर संकलन गरेको रकम हो।
‘म तीन महिना देखि आइसियुमा गम्भीर बिरामी भएका दाजुको उपचारमा कुरिरहेको छु,’ भैरवले भने, ‘अस्पतालको आन्तरिक सहयोग भएपनि महंगो औषधि किन्नुपर्ने अवस्था छ। आर्थिक अभावले औषधि किन्न सकिएको छैन। यो अवस्था सम्म त जेनतेन धानियो अब आर्थिक अवस्थाले धान्ला जस्तो छैन।
अर्थिक अभाव भएपछि उनले हारकाे मानसिकतामा भने, ‘यत्रो धेरै खर्च गर्दा पनि औषधि किन्ने रकम नहुँदा दाजुको उपचार हुन सकेन भने म के गरौँ?’
उपचारका लागि खर्च भएकाे १९ लाख रुपैयाँमा १८ लाख ऋण हाे। जग्गा धितो राखेर ६ लाख रुपैयाँ बैंकबाट निकालिएको थियो। अन्य ऋण गरेर उपचार गरियो तर उक्त रकम सकिएपछि अहिले ठुलो समस्या भएको छ। औषधि किन्न नसकिएको भन्दै हार गुहार गरिरहेको भैरब रोकाया बताउँछन्।
हिमा गाउँपालिकाले ५० हजार रकम सहयोग गरेको छ। यसैगरी अपांग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाले १५ हजार रुपैयाँ, जुम्ली सेवा समाजले १० हजार रुपैयाँ र इन्द्रेणी कार्यक्रमबाट ४० हजार रुपैयाँ प्राप्त भएको छ। भैरबले भने, ‘ऋण सापट गर्दा पनि नपुगेकोले औषधि किन्नकै लागि भएपनि हारगुहार गरिरहेको छु।’
बिरामीको औषधि किन्ने रुपैयाँ नहुँदा अस्पतालले कुरुवाको खानाको जिम्मेवारी अस्पतालले लिएको छ।
टिचिङ अस्पताल आईसियु इन्चार्ज उमा खनालका अनुसार कमलले खाना खाने क्रममा श्वासनलीमा खाना अड्किएका कारण इन्फेक्सन भएर प्वाल परेपछि गम्भीर रुपमा बिरामी परेका हुन। अस्पतालले तीन महिना देखि आइसियुमा राखेर हरप्रयास गरेर उपचार गरिरहेको छ।
‘उपचारमा कुनै कन्ज्जुस्याइँ छैन। तर आर्थिक अभावका कारण समस्या भइरहेको छ,’ उनले भनिन्, ‘बिरामीको तौल २८ केजी मात्र छ। डा. अञ्जन सापकोटा सहितका डाक्टर उपचार गरिरहनु भएको छ।’
आर्थिक अवस्था कमजोर र ऋण गरेको पैसा सकिएपछि बिरामी सहित कुरुवाको खाना समेत खुवाउने जिम्मा अस्पतालले लिएको आईसियू इन्चार्ज खनालले थपिन्।
कमलको जीवन बचाउन औषधी धेरै आवश्यक रहेकाले आर्थिक सहयोगको आवश्यकता रहेको छ। कमल बाँच्छन्। त्यसका लागि औषधि महत्त्वपूर्ण छ। उनकाे जीवन रक्षाको लागि यतिबेला धेरै सहयोगी मनहरुबाट आर्थिक सहयोगको खाँचो परेकाे छ।