काठमाडौं: माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।बैठक केही समयअघि सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीति विषयबारे छलफल गर्ने जनाइएको छ।
यसअघि सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठातमा संसदको हिउँदे अधिवेसन अन्त्य गरेपछि माओवादी केन्द्रले अन्य दलसँग छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरेको थियो।
यसबीच ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने वातावरण बनाउने तयारी भइरहेका बेला संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि थप राजनीतिक अन्योलता बढेको छ।
तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकेको छैन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पहिल्यकै अवस्थामा फर्काइदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई अलग दल भएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन्।