जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ। सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद् र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरूले मंगलबार छलफल सुरु गरेका हुन्।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरूबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा। आयोगका फैसलाका नक्कलहरू प्राप्त भएका छन्। त्यसलाई अध्ययन गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल सुरु गरिएको छ,’ कर्णले भने।