सशस्त्र प्रहरी बल नेपालले मंगलबार एकै पटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ।
सरुवा प्रयोजनको लागि केही समय अघि मात्र देशभरका जवानहरुलाई उनीहरुको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम नै भराइएको थियो।
सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए।
यस्तै सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको उनले बताए।
यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ। घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ।
विगतदेखि कै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको बताउँदै उनले भने, ‘मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो।’
उक्त कामबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ।
अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर विस्तारै सरुवा गरिने नीति सशस्त्र प्रहरी बल नेपालले लिएको छ।