पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र संस्थागत गर्न अब कांग्रेसले सरकारको नेतृत्व लिएर अघि बढ्नुपर्ने बताएका छन् । मुलुकमा हरेक पटक राजनीतिक संकटको निकास पहिल्याउन कांग्रेसले भूमिका खेलेको बताउँदै अहिले पनि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।
कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको पुस्तक ‘यात्रा निरन्तर’ को शनिबार गैंडाकोटमा विमोचन गर्दै यादवले ‘नेपालमा लोकतन्त्रको जग बलियो छ, नागरिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।’ अबको पद्धति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने उनले बताए ।
नेता सापकोटाले पुस्तकमा राजनीतिक घटनाक्रमको यथार्थ चित्रण गरेको बताउँदै यादवले यसबाट युवा पुस्ताले पाठ सिक्नुपर्ने पनि बताए । पुस्तक लोकार्पणका क्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीन पटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताए । पटक-पटक जेलनेल भोगेका सापकोटाजस्ता त्यागीले संसदीय निर्वाचनमा टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको बताए ।
सापकोटाले २०१७ देखि २०७६ माघसम्म आफैंले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतारेका छन् ।