जुम्लाको तातोपानी गाउँपालिका– ४ गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ। स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा खादमा भेटिएको सकेट बम नन्दाबक्स गण जुम्लाका सहायक सेनानी टेकराज गौलीको नेतृत्वमा गएको ७ जनाको टोलीले बिहीबार विहान डिस्पोज गरेको हो।
बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई बुधबार खबर गरेका थिए। बम भेटिएपछि सोहि दिन सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वमा टोली खटिएको थियो। बुधबार अबेर भएपछि विहिबार विहान मात्रै बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।
सो सकेट बम द्वन्द्वकालमा छोडिएको हुनसक्ने अनुमान गरिएको छ। ०६६ चैत २४ गते सोही गाउँको रुपचन्द्र बोहराको पुरानो घर भत्काउने क्रममा बेवारिसे बम विष्फोट हुँदा रामालक्ष्मी जैसी घाइते भएकी थिइन्। त्यस घटनामा परी उनको दायाँ हातको कुहिनाभन्दा तलको भाग गुम्नुका साथै दुवै आँखाको ज्योति पनि गुमेको थियो।