दैलेखमा झडप हुँदा दुई युवकको मृत्यु

हिमशिखर सम्वाददाता सुर्खेत १० कार्तिक २०८०, शुक्रबार १९:१२

दैलेखकाे दुई ठाउँमा भएको झडपका क्रममा दुई युवकको मृत्यु भएको छ।

कुटपिटबाट घाइते भएका दुईजनाको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार राति दैलेखको भैरवी गाउँपालिका -४ सिलङ्गी बजारमा युवाहरूबीच भएको झडपमा घाइते भएका बुढा क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।

युवाहरूबीच भएको झडपमा घाइते भएका किशोरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार सिलङ्गी बजारमा भएको झडपमा परी अन्य एकजना घाइते भएका छन्।

उनले भने, ‘घाइते भएका भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पताल पुर्‍याएकोमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।’

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ।

भैरवी गाउँपालिका–५ सैनचौरस्थित ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाही सिलङ्गी बजारमा गएको समयमा युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ।

यस्तै, नारायण नगरपालिका–७ मा दसैँको टीकाको दिन अर्थात् कात्तिक ७ गते राति युवाहरूबीच भएको झडपमा परी घाइते भएका रोहन शाहीको पनि मृत्यु भएको छ। झडपमा घाइते भएका शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

उक्त घटनामा संलग्न रहेको भन्दै चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

Next Post

जुम्लामा सुरु भयाे एक लाख राशिको वडा कप

१० कार्तिक २०८०, शुक्रबार १९:१२
जुम्लाकाे चन्दननाथ नगरपालिका -४ काे आयाेजनामा वडा कप सुरु भएकाे छ। एक लाख राशि रहेकाे वडा कप शनिबारदेखि सुरु भएकाे हाे। आयाेजकका अनुसार वडा कपमा द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। आठ स्थानीय तह र ६० वडा अस्तित्वमा रहेकाे जुम्लामा ३० […]