आज जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको परकम्प महसुस भएको हो । शक्तिशाली परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको नगरपालिकाको राउतगाउँमा आजको परकम्पले ३ वटा घर भत्किएको छ । राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरह भत्किएका छन् ।
शक्तिशाली परकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको थियो । यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६।४ म्याग्निुच्युडको भूकम्प गएको थियो । हालसम्म भूकम्पमा परी १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पबाट ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि डिस्चार्ज भएका छन् । अब ९५ जना उपचार गराइरहेका छन्। यसैबीच, जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री समयमा पुग्न नसक्दा पीडित थप समस्यामा परेका छन् ।
बढ्दो चिसोले भूकम्प पीडितलाई कष्ट थपिएको छ । शुक्रवार रातिदेखि नै बाहिर रहेका प्रभावितहरु केहीले त्रिपाल पाए पनि त्यो पर्याप्त नभएको उनीहरुको गुनासो छ ।