जुम्लाको तिला गाउँपालिकाले दोस्रो पटक नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेकाे छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरि सक्नु पर्ने भएकाले असार ७ गते विभिन्न सरोकारवाला निकाय, राजनितिक दल, नागरीक समाज, स्थानीय र सञ्चारकर्मीहरुको सुझाव संकलन गरेको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो ।
बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाकाे भनाई छ । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन विभिन्न राजनितीक दलका प्रतिनिधि स्थानीयले यो पटकको नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका छन् । गुणस्तरीय शिक्षा कायम गर्न, प्राय गाउँपालिकामै रहेका विद्यालयका विद्यार्थी उपस्थित नहुने वातावरण अन्त्य गर्न शिक्षामा लगानी गर्नु पर्ने सहभागीले सुझाव दिएका छन् ।
पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने कार्यक्रममा सहभागी स्थानीय काली बहादुर बुढाले बताउनुभयो ।
शुक्रबार भएको कार्यक्रममा विभिन्न उपस्थित वक्ताहरुले कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्न सुझाव दिएका छन् ।
त्यसै गरी गाउँपालिकावासीले सधै झेल्दै आएको खानेपानी समस्या समाधान गर्न सुझाव दिएका छन् । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाई समेत अघि बढाउने विषय प्राथमिकतामा पार्नु पर्ने सुझाव आएको छ । कृषि, पर्यटन, उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहने तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले बताउनुभयो । जनताका सबै सुझावहरू एक साथ पूरा गर्न नसके पनि क्रमबद्ध रूपमा पुरा गर्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष गाेरिकला बुढाले पहिलेकाे आर्थिक वर्षमा जे जति कमीकमजोरी भए पनि आगामी आर्थिक वर्ष २०८२/०८२ मा प्रत्यक्ष बालबालिका, महिला, अपांग,दलित, जनजातिका लागि बजेट बिनियाेजन गर्ने बताउनुभएको । उहाँका अनुसार नीति तथा कार्यक्रममा जनताका सुझाव लाई ध्यानमा राखि बजेट ल्याउने बताउनुभयो ।
कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकाया, उपाध्यक्ष गाेरिकला बुढा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापा, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, नागरीक समाज, स्थानीयवासी, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।