नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे, थप अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन

हिमशिखर संवाददाता २८ असार २०८१, शुक्रबार ०५:५०

नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।

बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको भन्ने पनि उनीहरूले बताएको डीएसपी रिजालले जानकारी दिए । अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा नखुलेको उनको भनाइ छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।

कान्तिपुर

Next Post

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार २०८१, शुक्रबार ०५:५०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन […]

सम्बन्धित समाचार