स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा

हिमशिखर संवाददाता २७ श्रावण २०८१, सोमबार १२:४७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गर्नुभएको हो ।

स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बिमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलको भनाइ छ । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बिमामा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताउनुभएको छ ।

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उहाँले ल्याउनुभएको छ । उहाँले एक सय बेड भन्दामाथिका सरकारी अस्पतालहरुमा नर्सिङ र तीन सय बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने पनि बताउनुभएको छ ।

Next Post

जिप्रका जुम्लाको अगुवाइमा चन्दननाथ,भैरवनाथ मन्दिर परिसरमा सरसफाई

२७ श्रावण २०८१, सोमबार १२:४७
जिल्ला प्रहरी कायर्यालय जुम्लाकाे अगुवाइमा  सदरमुकामस्थित धार्मिकस्थलहरूमा सरसफाइ गरिएकाे छ । साउन मसान्तको अन्तिम सोमबारका दिन नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिक उत्सवको अवसरमा मन्दिरहरूमा सरसफाइ गरिएकाे हाे । जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीकाे संयाेजकत्वमा प्रहरी, जनप्रतिनिधि र सराेकारवालाहरूकाे सहभागीतामा  चन्दननाथ,भैरवनाथ र कृष्ण मन्दिरमा सरसफाइ गरिएकाे थियाे । उक्त अवसरमा […]