निर्माणको वास्तविकता बुझ्न मुख्यमन्त्री कँडेल जुम्लामा

महेश चाैलागाँई ६ मंसिर २०८१, शुक्रबार १०:१३

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्लाको भ्रमण गरेका छन्।

जुम्ला आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले स्थानीय सरकार, सरोकारवालाहरू र कर्मचारीहरूसँग प्रत्यक्ष संवादमार्फत प्रदेशमा भएका विकास निर्माणका कार्यहरू, समस्या र सम्भावनाहरूको समिक्षा गर्न आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।

मुख्यमन्त्री कँडेलले भने, “विकास निर्माणको वास्तविकता प्रत्यक्ष रुपमा बुझ्नका लागि म यहाँ आएको हुँ। प्रदेशका जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने प्रक्रियालाई सुदृढ बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो।”

मुख्यमन्त्रीको भ्रमणसँगै विकास निर्माणका कार्यहरूमा देखिएका ढिलासुस्ती, स्रोत साधनको उपयोग र कर्मचारी व्यवस्थापनको अवस्था पनि छलफलको केन्द्रमा रहेको थियो।

उनले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावले कतिपय योजनाहरूमा चुनौती खडा गरेको स्वीकार गर्दै त्यसलाई समाधान गर्न तीन तहका सरकारहरूबीच सहकार्य र संवादलाई अझ प्रगाढ बनाउनेमा जोड दिए।

मुख्यमन्त्री कँडेलको उपस्थितिमा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या र चुनौतीहरूको विस्तृत विवरण प्रस्तुत गरे। प्रमुख चुनौतीका रूपमा बजेटको अपर्याप्तता, दक्ष जनशक्तिको अभाव र विकास परियोजनाहरूमा प्राविधिक जनशक्तिको कमीज रहेको जनप्रतिनिधिहरूले बताएका छन्।

जुम्लामा विकास निर्माणका यथार्थ पक्षहरूको जानकारी लिनुका साथै यस क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गर्नु मुख्यमन्त्री कँडेलको प्राथमिकतामा परेको हो।

उनका अनुसार, योजना निर्माण र कार्यान्वयनबीचको खाडललाई घटाउन जनप्रतिनिधि, कर्मचारी, र नागरिकहरूको समन्वय अत्यावश्यक छ।

मुख्यमन्त्री कँडेलले स्थानीय तहसँगको समन्वयबाट मात्रै प्रदेशमा समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउँदै भने, “हामी सबै एकै उद्देश्यका लागि छौं जनताको जीवनस्तर सुधार र सामाजिक रूपान्तरण।”

Next Post

सभामुख घिमिरे आइपिटिपीकाे बैठककाे लागी कम्बोडियामा

६ मंसिर २०८१, शुक्रबार १०:१३
सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन् । उनलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख घिमिरे यही मङ्सिर ८ देखि […]