कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी तथा शिक्षकहरूको स्तरवृद्धि प्रक्रियामा ठोस कदम चालेको र कानुन अनुसार हुने बताइएको छ।
प्रतिष्ठानका ५८ जना शिक्षक-कर्मचारीहरूलाई स्तरवृद्धि गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासको आदेश र लोक सेवाको राय परामर्श अनुसार काम अघि बढाइएको प्रतिष्ठानले बताएको छ।
१७ जना श्रेणीविहीन कर्मचारीहरूको स्वत: स्तरवृद्धि ०८१ मंसिर १० गतेबाट लागू हुने प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनका अनुसार अन्य शिक्षक र कर्मचारीहरूको स्तरवृद्धिका लागि लोकसेवा आयोगसँग समन्वय गरेर अघि बढाइएको छ।
प्रतिष्ठानले लोकसेवा आयोगलाई आवश्यक परामर्शका लागि फाइल पठाए पनि, आयोगले पुन: मूल्याङ्कनका लागि फिर्ता पठाएको थियो। अहिले प्रतिष्ठानको छनौट समितिले अन्तिम दरबन्दी तयार गरिरहेको रजिस्ट्रार नृपेन्द्र महतले बताए।
उनका अनुसार कर्मचारीहरूलाई हालसम्म पाउँदै आएको तलब भत्ता नघट्ने गरी स्तरवृद्धिको योजना बनाइएको छ। यो प्रक्रिया नेपालको प्रचलित नियम र व्यवस्थाअनुसार कार्तिक महिनादेखि लागु हुनेछ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्मचारीहरूको माग र प्रतिष्ठानको दायित्वलाई ध्यानमा राख्दै समन्वयात्मक रूपमा समस्या समाधानमा जोड दिने बताए।
“कर्मचारीहरूसँग भएको सम्झौता, लोकसेवा आयोगको राय र उच्च अदालतको आदेश अनुसार विज्ञापन प्रक्रिया अघि बढाउन लागिएको छ,” उनले भने।
उनका अनुसार कार्यसम्पादन मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धाका आधारमा प्रतिशत निर्धारण गरी बढुवा प्रक्रिया टुंग्याउने तयारी भएको छ।
“प्रतिष्ठानले स्तरवृद्धि प्रक्रियामा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण कदम चालेको उपकुलपति डा. रावलले बताए।
उनका अनुसार लोकसेवा आयोगको स्वीकृतिपछि विज्ञापन प्रक्रिया सुरु हुनेछ। कुटिराे डटकम बाट साभार