राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी

हिमशिखर संवाददाता २६ चैत्र २०८१, मंगलवार ००:२२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आश्वयकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने ।

यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।

तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ ।

Next Post

प्रधानमन्त्रीले गरे शिक्षकका मागबारे मन्त्री र सचिवहरूसँग छलफल

२६ चैत्र २०८१, मंगलवार ००:२२
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान […]