ममता शाही , जाजरकोट
साउन महिनाको सुरुवाती सँगै मेरो जीवनमा
“बा” का यादहरूको वर्षात बर्सिन थाल्छ
उसो त, “बा” को यादले नसताएको कुनै क्षण छैन
तर, यो प्रत्येक वर्ष आउने साउन महिनाले
ती पुराना घाउहरू लाई ताजा बनाइदिन्छ,
त्यो पुरानो चोटमा नुन चुक छरिदिन्छ,
’बा’ को सम्झनाले झनै बढी विक्षिप्त गराइदिन्छ।
मलाई साँच्चै यो साउन महिनासित
धेरै गुनासो छ, यसलाई सोध्नु पर्ने असंख्य
प्रश्नहरु छन्,
मरो जीवनका सारा खुसीहरुलाई आफ्नो
कालो रंगसँगै मिश्रित गरिदियो
मेरी आमाको सिन्दुर आफ्नो झरीले पखालिदियो,
कालो बादलासँगै मेरो छायाँलाई विलीन गरिदियो,
साउने भेलले, घरमा छरिएर रहेका सुख शान्तिहरु लाई
एकै नराखी बगाइदियो,
साउन महिनाले मेरो जीवनमा धेरै ठुलो
अन्याय गरेको छ।
‘यो महिनाभरि एकरात पनि चैनको निद्रा लाग्दैन’
आकाश गड्याँङ्गुँडुङ गर्दा
’बा’ को त्यो रातको चिच्याहट सुन्छु,
झरी पर्दा, ‘बा’ले अन्तिम चोटी बगाएका
आँसु सम्झिन्छु,
हरियाली देख्दा, ‘बा’ले आफ्नो दर्द रोक्न
कम्मरमा बाँधेको आमाको हरियो
पछ्यौरी सम्झिन्छु,
कुहिरोले चारैतिर अँध्यारो बनाएको बेला
’बा’ को गोरो अनुहारमा कालको कालो
छायाँ परेको यी आखाँमा झलक्क हुन्छ।
र…..
यो साउने झरिभन्दा बढ्ता बर्सिन्छन्
मेरा आँखाहरु…………



