अछामको पञ्चदेवल विनायक नगरपालिका ८ वारलामा छाउपडी गोठमा सुतिरहेको अवस्थामा ढुङ्गा खस्दा दुई महिलाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्।
मृतकमध्ये मङ्गलसेन नगरपालिका ६ जनाली बण्डाली घर भएकी अन्दाजी ३७ वर्षीया रत्नकला भण्डारी र पञ्चदेवल विनायक ८ वारलाकी अन्दाजी ३० वर्षीया मिम खनाल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी १० वर्षीया बालिका बबिता भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ। बबिता मृतक रत्नकला भण्डारीकी छोरी हुन्।
स्थानीयवासी भरत साउदका अनुसार गाउँसम्म पुगेको सडक समयमै नपन्छाइएकाले घाइतेलाई कर्णाली राजमार्गसम्म पु-याउन कठिनाइ भएको छ।



