काठमाडौं । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रमा रोजगारी सिर्जना, ऊर्जा विकास, सुशासन र शिक्षा सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
पार्टीले पाँच वर्षभित्र ४५ लाखलाई रोजगारी प्रदान गर्ने, सन् २०३५ सम्म २६ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रत्येक घरलाई जलविद्युत् आयोजनामा न्यूनतम १,००० कित्ता शेयर उपलब्ध गराउने लक्ष्य अघि सारेको छ।
त्यस्तै, विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, कक्षा १२ का विद्यार्थीलाई १०० दिनको इन्टर्नसिपसहित मासिक १० हजार भत्ता, युवा उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा अनुदान, र लाखौं युवालाई कोडिङ, एआई तथा साइबर सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने योजना पनि समावेश गरिएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, मन्त्रालय संरचना पुनर्संरचना तथा सडक र पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ।
पार्टीले यी योजनाले आर्थिक विकास, सुशासन र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।



