जबरजस्ती करणी मुद्दाका फरार कैदी लगनखेलबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएको करिब पाँच महिनापछि पुनः पक्राउ परेका छन्।
कारागार कार्यालय नख्खु बाट भदौ २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा भागी फरार भएका अशोक भन्ने अनिष भुजेललाई प्रहरीले माग ३ गते बेलुका करिब ५ बजे लगनखेल बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।
भक्तपुर जिल्ला अदालत को २०७९/०३/२२ गतेको फैसलाअनुसार १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई लगनखेल बसपार्क क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई पुनः नख्खु कारागार पठाइएको छ।
२२ वर्षीय भुजेलको स्थायी ठेगाना दोलखा जिल्ला शैलुङ गाउँपालिका–७ फस्कु रहेको छ भने हाल ललितपुर महानगरपालिका–९ भोलढोकामा बसोबास गर्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



