जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर १ र २ मा महिलाको पाठेघर तथा प्रजनन स्वास्थ्य जाँचका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाले भोग्दै आएका पाठेघरसम्बन्धी समस्याको समयमै पहिचान र उपचारमा सहजता ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविरमा १८१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा समस्या देखिएका ४ जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

शिविर पातारासी स्वास्थ्य चौकी माथाचौर मा सञ्चालन गरिएको थियो। डा. सागर कोइराला नेतृत्वको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रम सर्वोदय नेपाल को सहजीकरण र फेमी फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो।

स्वास्थ्य संस्था टाढा भएकाले नियमित जाँच र उपचारबाट वञ्चित हुँदै आएका महिलाले गाउँमै विशेषज्ञ सेवा पाउँदा राहत महसुस गरेका छन्। शिविरले महिलामा स्वास्थ्य सचेतना बढाउनुका साथै जटिल समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


