चर्चित गायक प्रमोद खरेल सहभागी धनकुटा महोत्सवमा अत्याधिक भीड हुँदा च्यापिएर दर्जनबढी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
महोत्सवमा टिकट नकाटी कार्यक्रमस्थल प्रवेश गर्न खोज्नेलाई आयोजक पक्षले गेटमा रोक्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि भागदौड मच्चिँदा महोत्सव हेर्न आएका दर्जनबढी दर्शक च्यापिएर घाइते भएका हुन्।
उनीहरुको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरान ल्याइएको हो।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। उनले भने, ‘घटनाको सम्पूर्ण विवरण आइसकेको छैन्, अहिलेसम्म तीन जनाको अवस्था गम्भीर रहेको सूचना प्राप्त भएको छ।’



