जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्ला यातायात व्यवस्था कार्यालय अगाडि भएको दुर्घटनामा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय पुरुषको ज्यान गएको हो।
प्रहरीका अनुसार तिला गाउँपालिकाका प्राविधिक जितबहादुर सिंहका नाममा रहेको कर्णाली प्रदेश सरकारको क १ प २७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका उनलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।
दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनाका बेला मोटरसाइकल कसले चलाइरहेको थियो भन्नेबारे प्रहरीले यकिन गर्न सकेको छैन।
फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


